काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित टिकटकर कुमार थापा मगर आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार शुक्रबार राति तारकेश्वर नगरपालिका–लोलाङ, पैँयुटारमा भएको घटनामा ईश्वरीमाथि रड प्रहार गरिएको थियो। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
प्रहरी अनुसन्धानअनुसार ४२ वर्षीय ईश्वरी सैनिक सेवामा कार्यरत थिइन्। उनी र कुमारबीच लामो समयदेखि वैवाहिक सम्बन्धमा समस्या रहेको र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढिरहेको बताइएको छ।
शुक्रबार बेलुका कामबाट घर फर्किने समय कुरेर बसेका कुमारले घर नजिकै पुगेकी ईश्वरीमाथि अचानक रडले आक्रमण गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनापछि स्थानीयले उनलाई तत्काल उपचारका लागि तारकेश्वर अस्पताल पुर्याएका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि शिक्षण अस्पताल रिफर गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भयो।
घटनालगत्तै फरार भएका कुमारलाई प्रहरीले बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् र घटनाबारे थप अनुसन्धान जारी छ।
सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित कुमार थापा मगरले आफूलाई रेस्लर तथा फाइटरका रूपमा समेत चिनाउँदै आएका थिए। मृतक ईश्वरी भुजेल र कुमार दुवै ४२ वर्षका रहेको प्रहरीले जनाएको छ।


