हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ११ बजे भीमफेदी गाउँपालिका–८ बैदमारमा दुर्घटना भएको हो। माण्डु जलविद्युत् आयोजनाबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप गाडी सडकबाट करिब १०० फिट तल खसेको थियो।
दुर्घटनामा चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा कार्यरत बारा पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय इन्जिनियर सूर्य यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक बुढाथोकी नेपाली सेनाका भूतपूर्व हवल्दारसमेत हुन्।
दुर्घटनापछि प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा आवश्यक अनुसन्धान थालेको थियो। मृतक दुवै जनाको शव बिहीबार बिहान हेटौंडा अस्पताल ल्याइएको छ।


