बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा शनिबार साँझ भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकल ले छातापिपरा चोकमा सडक पार गर्दै गरेका एक पैदल यात्रुलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार युवक र पैदल यात्रुसहित तीन जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार मृत्यु हुनेमध्ये जीतपुरसिमरा–१ पथलैया स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २० वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौंको टोखा नगरपालिका निवासी डिजेन जोशी को पहिचान खुलेको छ। पैदल यात्रुको परिचय भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार डिजेन जोशी र सभ्य अधिकारीको शव बयोधा अस्पतालमा राखिएको छ भने पैदल यात्रुको शव नारायणी अस्पतालको शवगृहमा राखिएको छ।


