चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा झन्डै एक तिहाइ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको पाइएको छ।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मतदानका लागि योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मत खसालेका छन्। यससँगै १ हजार ३५२ प्रतिनिधि मतदानबाट बाहिरिएका छन्।
पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्यका ९९ पदका लागि ३७९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूमध्ये ९९ जना निर्वाचित हुनेछन्।
निर्वाचन आयोगका अनुसार नेपालभित्र रहेका प्रतिनिधिहरूको मतदान सम्पन्न भइसकेको छ। विदेशमा रहेका प्रवासी प्रतिनिधिहरूलाई भने मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।
प्रवासी प्रतिनिधिको मतदान सम्पन्न भएपछि अन्तिम मतगणना गरी नतिजा सार्वजनिक गरिने आयोगले जनाएको छ।
चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि सञ्चालन भइरहेको छ। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी संगठनात्मक र राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।


