चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि शुक्रबार मतदान भएको हो।
निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै मतगणना सुरु गर्ने तयारी गरिएको छ। रास्वपाले मतदानको अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना गर्ने जनाएको छ।
महाधिवेशन आयोजक समितिका अनुसार शपथग्रहण कार्यक्रम शुक्रबार साँझ ६:३० बजे महाधिवेशनस्थलको मुख्य हलमा हुनेछ। कार्यक्रममा नवनिर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
गत आइतबार उद्घाटन भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन प्रारम्भिक कार्यतालिकाअनुसार तीन दिनमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया अपेक्षाभन्दा लामो हुँदा महाधिवेशन छ दिनसम्म लम्बिएको हो।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब दोस्रो चरणको निर्वाचन परिणामसँगै रास्वपाले उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित नयाँ पदाधिकारी टोलीको टुंगो लगाउनेछ।



