दमक, असार २२ गते । गृहमन्त्री सुधन गुरुङले नेपालको पूर्वी नाकाको अवस्थाको बिषयमा अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सोमबार पूर्वी नाका पुगेर भन्सार कार्यालय लगायत सुरक्षा संयन्त्रको ‘ग्राउन्ड टेस्ट’ गर्नुभएको हो ।
उहाँले मेचीपुल तथा दशगजा क्षेत्रमा अनुगमन गर्दै यसलाई ब्यवस्थित गर्न आवश्यक कदम चालिने बताउनुभयो । आइतबार राति झापा आइपुग्नुभएका गृहमन्त्री गुरुङले सोमबार नेपालको पूर्वी नाका मेचीनगरको काँकडभिट्टा, मेची पुल, ईट्टाभट्टा–जोरसिम लगायत सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो ।
गृहमन्त्री गुरुङसँग विहानै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल २ नं. गण हे.क्वा.का सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान बिभाग झापाका प्रमुख उप अनुसन्धान निर्देशक उमेश पाण्डेले भेट गर्दै यहाँको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।
अनुगमनका क्रममा गृहमन्त्रीले चोरी–तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न, भन्सार राजस्व चुहावट रोक्न, सीमामा निगरानी बढाउन तथा सीमा क्षेत्रमा खटिने प्रहरीको व्यवस्थापन थप चुस्त बनाउन निर्देशन दिनुभयो । सुरक्षा संयन्त्रलाई परिणाममुखी ढङ्गले परिचालन गर्न उहाँले जोड रहेको थियो ।
मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले भन्सारको बस्तुस्थितिबारे जानकारी गराएपछि गुरुङले गुनासो नआउनेगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले पुरानै ढङ्गले अब भन्सार लगायतका कार्यालहरु चल्न नसक्ने उल्लेख गर्दै परिणममुखी काम गर्नका लागि आग्रह गर्नुभयो ।
जोरसिमलको चेकपोष्ट हटाउन निर्देशन
अनुगमनकै क्रममा मेचीनगर–७ को जोरसिमलस्थित अस्थायी सशस्त्र प्रहरीको चेकपोष्ट तत्काल हटाउन पनि उहाँले निर्देशन दिनुभएको छ । उक्त चेकपोष्ट हटाएर सुरक्षा स्रोत–साधनलाई आवश्यकताअनुसार पुनः व्यवस्थापन गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभएको हो । जोरसिमल बिबादित क्षेत्र हो । यहाँ सीमापारबाट सामान आउँदा लेनदेन हुने गुनासो बारम्बार आउनु गरेको थियो ।
प्रहरीलाई यसरी बिजोग रुपमा र अनावश्यक रुपमा राख्नु हुँदैन, उहाँले भन्नुभयो । स्थानीय निकाय र वडासँग समन्वय गरेर आवश्यक ठाउँहरुमा यस्ता चेकपोष्टहरु राख्नु पर्ने उहाँको भनाइ छ ।
शौचालय लगायतका कुनै पनि पूर्वाधार नदेखेपछि गुरुङले यो आजै हटाउन निर्देशन दिनुभएको हो । म केही जान्दिन आजै अहिल्यै उठाउनुहोस्, उहाँले भन्नुभयो । यहाँबाट चेकपोष्ट हटाएर सीमा नै कडा गर्न उहाँले निर्देशन दिनुभयो ।
भारतीय नम्बरको गाडि भगाउँदा
काकड्भिट्टा बजार अनुगमन गरिरहँदा गृहमन्त्री गुरुङसहित जिल्लाका सबै सुरक्षाका प्रमुखहरुलाई देखेपछि एक भारतीय सवारी साधन भाग्न खोजेको थियो । उक्त गाडि केही मिटर पर लगेर लुकाउने प्रयास भएको थियो । तत्काल जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काले उक्त गाडि नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया सुरु गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री गुरुङले झापाका प्रमुख जिल्ला अधिकारी गेलालसमक्ष यस बिषयमा चासो पनि राख्नुभएको थियो । “सिडिओ साव हामी यस्ता कुरामा कमजोरी गर्नु भएन, यस्ता साना कुरामा झुक्नु भएन” उहाँले भन्नुभयो । आज जे भयो र देखियो अब यस्तो नदेखियोस्, गेलाललाई मन्त्री गुरुङले निर्देशन दिनुभयो । नेपालका सवारी साधन सहजै भारत जान नपाउने तर भारतीय सवारी साधन सहजै नेपालमा आउने गरेको छ ।
स्थानीयसँग छलफल
गृहमन्त्री गुरुङले मेचीनगरकी उपमेयर मिना उप्रेती लगायतका स्थानीयहरुसँग स्थानीय सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण र नागरिकका गुनासाबारे छलफल गर्नुभएको छ । सीमावर्ती बस्तीका स्थानीले भोग्नु परेका पीडा र राज्यको उपस्थितिबारे उहाँले चासो राख्नुभएको थियो ।
न्याय नपाएको गुनासो
गृहमन्त्री गुरुङसमक्ष एक परिवारले १५ बर्षिया बालिकालाई बलात्कार गर्ने ब्यक्तिलाई कार्वाही नभएको र अदालतले सफाइ दिएको भन्दै गुनासो गरेका थिए । गुरुङले पीडितले राखेको कुरा बुझेर तत्काललाई त्यस बिषयमा बुझ्ने बताउनुभयो । उहाँले पीडित परिवारको नम्बर पनि लिएर राख्नुभयो । हामी अहिले तपाईलाई भेटन आएका हौ, पीडित बालिकाकी एक आफन्तले गृहमन्त्री समक्ष भन्नुभयो ।
उपचार बन्दोबस्त गर्ने प्रतिबद्धता
यसैगरी गृहमन्त्री गुरुङले जेएनजी आन्दोलनको क्रममा घाइते झापा बुद्धशान्तिका अंकित शर्माको उपचारमा कमी हुन नदिने बताउनुभयो । शर्मा अहिले पनि उपचाररत रहनुभएको छ । शर्माको घरमा नै गृहमन्त्री गुरुङ पुग्नुभएको हो । घाइते परिवार तथा स्थानीय जेएनजी आन्दोलनको मर्म र भावानालाई बुझेर अघि बढ्न गृहमन्त्री गुरुङसँग आग्रह गरेका थिए ।


