काठमाडौं : मिकेल मेरिनोको इन्जुरी समयको निर्णायक गोलसँगै स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
डलास रंगशालामा सम्पन्न अन्तिम १६ को प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा थिए। तर, इन्जुरी समयको पहिलो मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई नाटकीय जित दिलाए।
यो जितसँगै युरोपियन च्याम्पियन स्पेनले क्वार्टरफाइनलमा स्थान बनाएको छ। अब स्पेनले जुलाई ९ मा लस एन्जलसमा अमेरिका र बेल्जियमबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
पहिलो हाफमा दुवै टोलीले आकर्षक आक्रमण गरे पनि गोल गर्न सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले डानी ओल्मोको पासमा पाएको उत्कृष्ट अवसर खेर फाले भने एलेक्स बाएनाको कर्लिङ प्रहारलाई पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले शानदार बचाउ गरे।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि केही अवसर सिर्जना गरे। नुनो मेन्डेसको शक्तिशाली प्रहार डिफ्लेक्ट हुँदै क्रसबारेमा लागेपछि पोर्चुगल अग्रता लिनबाट वञ्चित रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफमा दुवै टोलीले सावधानीपूर्वक खेल्दा खेल अतिरिक्त समयतर्फ जाने संकेत देखिएको थियो। तर, इन्जुरी समयको पहिलो मिनेट (९०+१) मा स्पेनका दुई वैकल्पिक खेलाडीले खेलको नतिजा बदलिदिए। फेरान टोरेसको सटिक पासमा मिकेल मेरिनोले पहिलो टचमै गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि स्पेनले १–० को बहुमूल्य जित हात पार्यो।
यस हारसँगै पोर्चुगलको विश्वकप यात्रा समाप्त भएको छ। साथै, ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप करियरमा पनि पूर्णविराम लागेको छ। प्रतियोगिताअघि नै उनले यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए।
रोनाल्डोले आफ्नो विश्वकप यात्रामा २७ खेल खेल्दै ११ गोल गरेका छन्। उनी लगातार छ वटा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष फुटबलरका रूपमा इतिहासमा अमर बनेका छन्।


