काठमाडौं । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत नलैजाने निर्णय गरिएको छ। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अझै अस्थिर रहेको र अहिले स्थानान्तरण गर्नु जोखिमपूर्ण हुने सुझाव दिएपछि सरकारले भारत लैजाने तयारी स्थगित गरेको हो।
सुरुआतमा उपचारमा संलग्न चिकित्सकहरूको सिफारिसअनुसार सरकारले उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स (AIIMS) अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो। हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरिनुका साथै भारत पुगेपछि विमानस्थलदेखि अस्पतालसम्मको सम्पूर्ण बन्दोबस्त मिलाइएको थियो। सरकारले उनको सम्पूर्ण उपचार खर्च पनि व्यहोर्ने घोषणा गरेको छ।
उनीलाई तत्काल विमानस्थलसम्म सुरक्षित पुर्याउन गृहमन्त्री सुदन गुरुङ स्वयं सक्रिय भएका थिए। सडक मार्ग सहज बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर परिचालन गरिएको थियो।
तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहारामा उपचाररत गणेश नेपालीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले अहिले स्थानान्तरण नगर्न सरकारलाई सुझाव दिएका छन्। उनीहरूको भनाइअनुसार स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजानु उपयुक्त हुनेछ।
यही कारण गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिहरू वीर अस्पतालमै तयारी अवस्थामा रहेका छन्।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
हाल उनको उपचार प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा भइरहेको छ। उपचार टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवासहित २१ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिएको छ।
चिकित्सकहरूले रक्तचाप नियन्त्रणमा राख्ने तथा स्वास्थ्य अवस्था स्थिर बनाउने उद्देश्यले निरन्तर सघन उपचार र आवश्यक औषधि दिइरहेका छन्।


