काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण तथा हरित विकासको प्रमुख आधार रहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
प्रधानमन्त्री शाहले ऊर्जा उत्पादन र प्रवर्द्धनका क्रममा देखिएका समस्या, अवसर तथा चुनौतीबारे इपानले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सहजीकरण र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र अन्य सरोकारवाला निकायसँग समन्वय गरी ऊर्जा क्षेत्रका समस्याको समाधानमा सरकार सक्रिय रहने बताए।
छलफलमा जलविद्युत् विकास, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी, उद्योग–व्यवसाय प्रवर्द्धन तथा ऊर्जा क्षेत्रमार्फत मुलुकको अर्थतन्त्र सुदृढ बनाउने विषयमा समेत विस्तृत संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
इपानका पदाधिकारीहरूले विद्युत् खरिद सम्झौता (पीपीए) सहज बनाउने, रोकिएका जलविद्युत् आयोजना अघि बढाउने, प्रसारण लाइन तथा ग्रिड पहुँच विस्तार, वन तथा वातावरणीय स्वीकृति र जग्गा प्राप्ति प्रक्रियालाई सरल बनाउने, अनुमतिपत्र नवीकरणमा सहजीकरण तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
भेटका क्रममा लगानी सुरक्षाको प्रत्याभूति र ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि छलफल भएको थियो।
छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नवीन भण्डारी तथा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टीएन आचार्यलगायतको सहभागिता रहेको थियो।


