मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार एमालेका मन्त्रीहरूले मंगलबार राति मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अन्त्य गर्ने निर्णयसँगै सरकारमा रहेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी तथा वन वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा तथा बिनाविभागीयबाट जिम्मेवारी सम्हालिरहेका जयराम थापा, किरण थापामगर र भरतबहादुर केसी रहेका छन्।
एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ। यसैबीच प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर आठवटा कायम गर्ने तयारी गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचना अनुसार मन्त्रालयहरूको कार्यविभाजन टुंग्याइने प्रदेश सरकारको तयारी छ।



