काठमाडौँ, साउन २८ गते । नेपालमा मृत्युपछि हुने अङ्गदान न्यून सङ्ख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्न सकिने कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृतदाताबाट मात्र २३ वटा अङ्ग प्रत्यारोपण सम्भव भएको छ । तीमध्ये १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एउटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको छ ।
नेपालमा ब्रेन डेथ भएका व्यक्तिबाट हुने अङ्ग प्रत्यारोपण सुरुवात सन् २०१७ मा मिर्गौला प्रत्यारोपणबाट भएको थियो । त्यसयता सीमित सङ्ख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अङ्ग प्रत्यारोपण भइरहेको छ । यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्न भने चुनौती देखिएको छ । कलेजो तथा मिर्गौला प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार एक जना मृत अङ्गदाताबाट आठभन्दा बढी बिरामीको जीवन बचाउन सकिन्छ । उहाँले मृत्युपछि अङ्गदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो । डा. श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै आएको जानकारी दिनुभयो ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अङ्गदानलाई अझै प्रभावकारी रूपमा अघि बढाउन नसकिएको जानकारी दिनुभयो । उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अङ्ग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पु¥याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । मृत्युपछि हुने अङ्गदानका लागि जनचेतना मात्र पर्याप्त हुँदैन । कार्यकारी निर्देशक डा. श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने अस्पतालस्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अङ्ग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रियस्तरको पारदर्शी अङ्ग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो । नेपालमा अङ्गदान तथा प्रत्यारोपण व्यवस्थित गर्न कानुनी व्यवस्था पनि रहेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरी नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबिच अङ्ग साटासाट र मस्तिष्क मृत्युपछि हुने अङ्गदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर करिब एक लाख २७ हजार ७२७ अङ्ग प्रत्यारोपण गरिएको थियो ।
डा. श्रेष्ठले नेपालका लागि मुख्य चुनौती अङ्गदान गर्न इच्छुक मानिसको सङ्ख्या बढाउनु मात्र नभई प्रत्यारोपणमा परिणत गर्न सक्ने बलियो प्रणाली निर्माण गर्नुपर्ने बताउनुभयो । यसैबिच बिहीबार विश्व अङ्गदान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष अगस्त १३ मा यो दिवस मनाइन्छ । अङ्गदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने यो दिवस नेपालका लागि मृत्युपछि हुने अङ्गदानलाई प्रोत्साहित गर्ने उद्देश्यले मनाउन लागिएको हो ।


