हेटौँडा । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत वीरगन्जको स्कारपियो दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
मङ्गलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको हो।
प्रहरीका अनुसार स्कारपियोमा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश, रजिस्ट्रार, चालकसहित ६ जना सवार थिए। दुर्घटनामा दुई महिला र चार पुरुष घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहितको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी भीमफेदी अस्पतालमा उपचारका लागि पठाएको जनाएको छ। थप उपचारका लागि उनीहरूलाई सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत पुगेको थियो। दुर्घटनामा परेको स्कारपियो खोल्सामै रहे पनि सडकमा सवारी आवागमन भने नियमित रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूको पूर्ण विवरण खुल्न बाँकी रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


