काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद सिर्जना भए पनि त्यसलाई सम्हाल्दै पार्टी अघि बढ्ने बताएका छन्।
रास्वपाको आन्तरिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले उक्त छलफल औपचारिक संसदीय दलको बैठक नभएको स्पष्ट पारे। संसदमा पार्टीका सांसदहरूको प्रस्तुति तथा उठाउने विषयबारे छलफल गर्न बैठक बसेको उनको भनाइ थियो।
उनले पार्टीमा धेरै सांसद भएकाले कहिलेकाहीँ कसैको अभिव्यक्ति विवादमा पर्न सक्ने बताए। त्यस्ता विषयलाई आन्तरिक रूपमा सम्हालेर अघि बढ्ने उनको भनाइ छ।
लामिछानेका अनुसार संसदमा रास्वपाका सांसदहरूको प्रस्तुति कस्तो भइरहेको छ भन्ने विषयमा समेत समीक्षा गरिएको थियो। सांसदहरूको अभिव्यक्ति र प्रस्तुतीकरणलाई लिएर आम नागरिकस्तरबाट प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसबारे पार्टीभित्र छलफल आवश्यक रहेको बताए।
सरकार, मन्त्रालय र मन्त्रीहरूका कामकारबाहीप्रति पार्टीभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।
संसदको मर्यादा कायम राख्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्रभावकारी रूपमा उठाउने विषयमा पार्टीभित्र साझा बुझाइ बनाउने प्रयास भएको लामिछानेले बताए।


