काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। फिल्मको ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
करिब ७ मिनेट लामो गीतको भिडियोमा फिल्मका मुख्य पात्र केकी अधिकारी र आँचल शर्माबीचको झगडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छन्।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ। गीतका संवाद तथा लाइनहरू तीजको परिवेशसँगै सामाजिक सञ्जालमा समेत चर्चामा आउन सक्ने देखिन्छ।
गीतको भिडियोमा दुई अभिनेत्रीबीचको नोकझोकलाई प्रमुखता दिइएको छ। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। केकी र आँचलले गीतलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान खिचिसकेको छ भने ट्रेलर केही दिनमा सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ।


