काठमाडौं । निर्देशक राजु श्रेष्ठको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘नौ डाँडा काटेर’ निर्माण हुने भएको छ। हाल छायांकनको अन्तिम चरणमा रहेको सिनेमा ‘कंगाल करोडपति’का निर्देशक श्रेष्ठले कोजाग्रत पूर्णिमाको अवसर पारेर आफ्नो नयाँ निर्देशकीय सिनेमाको घोषणा गरेका हुन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सिनेमाको नाम सार्वजनिक गरेका हुन्।
सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने ‘नौ डाँडा काटेर’लाई अनिल कुमार बुढाथोकीले निर्माण गर्नेछन्। सिनेमाको कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी सुरज कुमारले सम्हाल्नेछन्।
सिनेमाको कथा तथा पटकथा रंग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पार्नेछन्।
निर्देशक श्रेष्ठले सिनेमाका कलाकार तथा प्राविधिक टोलीबारे भने हाल निर्माणाधीन सिनेमा ‘कंगाल करोडपति’को छायांकन प्याकअप भएपछि जानकारी दिने बताएका छन्।
‘नौ डाँडा काटेर’का अन्य विवरण सार्वजनिक हुन बाँकी छन्। सिनेमाको कलाकार छनोट, छायांकन तालिका र प्रदर्शन मितिबारे थप जानकारीका लागि दर्शकले प्रतीक्षा गर्नुपर्नेछ।


