उन २५ , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने दाबी गर्नुभएको छ ।
जापान भ्रमणबाट फर्केपछि बुधबार सञ्चारकर्मीसँग त्रिभूवन अन्त्रराष्ट्रिय विमानस्थलमा कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिले नागरिकता विधेयक नरोक्ने दाबी गर्नुभएको हो । ‘मैले हिजै पनि जापानमा पत्रकारहरुसित भनेको थिएँ, राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न,’ उहाँको भनाइ थियो, ‘ढिलो हुनुहुँदैनथ्यो ।’
दाहालले सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता नगर्ने बताउनुभएको थियो ।संसद्का दुवै सदनबाट बहुमतले पारित भएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छैन ।
संसद् सचिवालयले पठाएको विधेयक राष्ट्रपतिलाई १५दिनभित्र प्रमाणीकरण गर्नुपर्ने समयसीमा हुन्छ । १५ दिनभित्र प्रमाणीकरण नगरे एकपटक पुनर्विचारका लागि संसदमै फर्काउन सक्ने सुविधा संविधानले राष्ट्रपतिलाई दिएको छ । तर, संसद्को दुवै सदनले पारित गरेर पुनः पठाएमा रोक्ने वा पुनः फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई छैन ।


