असोज २२, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट चुनाव लड्नु हुने भएको छ ।चितवन ३ बाट निर्वाचन लड्ने तयारी भए पनि अन्तिम समयमा क्षेत्र परिवर्तन गरिएको छ ।
पार्टीको बैठकमा प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । शुक्रबार साँझ बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।माओवादीका एक नेताका अनुसार प्रचण्डले आफू चितवनबाट चुनाव नलड्ने बताएका थिए । उनले गठबन्धनलाई पनि समय दिन पाइने र चितवन सुनिश्चित नदेखिएकाले गोरखाबाट चुनाव लड्न लागेको बताएका थिए ।
२०७४ को निर्वाचनमा दाहाल चितवन ३ बाट निर्वाचित हुनुभएको थियो ।नेकपा एमालेले भने गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ ।
पूर्वआईजीपी सर्वेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गर्नुभएका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो ।


