काठमाडौं, कात्तिक २७
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।
पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय गरेको छ । नेपाल सम्बत यस अघि नै राष्ट्रिय सम्बतका रुपमा घोषणा भइसकेको छ । व्यवहारिक रुपमा कार्यान्वयनमा नआएको भन्दै सरकारले २०८० कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल सम्बत ११४४ को उपलक्ष्यमा शुभकामना दिदैँ विक्रम सम्बत उल्लेख गरिने सरकारी कागजमा नेपाल सम्बत पनि उल्लेख गर्ने निर्णय भएको हो ।


