प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवाको गौतमबुद्ध विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे छलफल गर्नुभएको हो । विमानस्थल पूर्ण क्षमतामा ल्याउन हवाइ टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाइ इन्धनमा केही सहुलियत दिन प्रस्ताव समेत गरिएको छ । यसका लागि निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेज दिनुपर्ने उहाँको जोड छ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले दुबै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकामा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताउनु भयो ।
पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी भएको छ, प्रधानमन्त्री प्रचण्डले भने, निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन।
प्रधानमन्त्री प्रचण्डले पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई गम्भीरतापूर्वक तयारी गर्न र सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निर्देशन गर्नुभएको छ । केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन उहाँले निर्देशन दिनुभएको हो । काठमाडौं एयरपोर्टमा एयर ट्राफिकको समस्या छ। यसको उचित समाधान दिनुपर्ने हुन्छ। अर्कोतर्फ काठमाडौं एयरपोर्टको सुधार र क्षमता विस्तारको काम भइरहेको छ,प्रधानमन्त्रीले भने, यही बेला भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्छ।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताउनु भयो।


