वैशाख १० ,चितवन ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताउनु भएको छ । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो ।
उद्योगीहरूले नेपालमा पर्याप्त उत्पादन हुने औषधि आयात रोक लगाउनुपर्ने माग गरेपछि पौडेलले यो विषय उठानको उपयुक्त समय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबार दिउँसोसम्ममा आयोगमा आउनुहोस्, यो विषयमा गम्भीररूपमा छलफल गरौँ ।”
नेपाली औषधि उद्योगको अवस्थाका बारेमा विस्तृत विवरणसहित आउन उहाँले आग्रह गर्नुभयो । तथ्यका आधारमा बसेर छलफल गर्नुपर्ने पौडेलको भनाइ थियो । सरकार आफैँले बनाएका ऐन, नियम कार्यान्वयन हुन नसक्दा उद्योग समस्यामा रहेको जनाएपछि पौडेलले विस्तारै यो समाधान हुँदै जाने बताउनुभयो । प्राविधिक जनशक्ति पलायन हुने समस्याले गर्दा कतिपय काम समयमा हुन नसकेको पौडेलले बताउनुभयो ।
सो अवसरमा औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले उद्योग थपिएअनुसार विभागमा जनशक्ति नहुँदा काममा ढिलाइ भएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “ऐन, नियम राजनीतिक तहबाटै प्रतिबद्धता जनाएर कार्यान्वयन हुनुपर्छ ।” औषधि उद्योग प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानलाई परिवर्तन गरेर समय थप गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।


