काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सूचीलाई लिएर आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्।
अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रतिनिधिसभा निर्वाचनका लागि बुझाइएको समानुपातिक सूचीमा आफ्ना भान्जा र ससुरा समावेश गरिएको भनी प्रचार गरिएको विषयप्रति आपत्ति जनाएका हुन्।
‘समाचार तथा चर्चामा “भान्जा” भनेर उल्लेख गरिएका व्यक्ति मेरा भान्जा होइनन्,’ घिसिङले लेखेका छन्, ‘उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्।’ त्यस्तै, समानुपातिक सूचीमा रहेका र आफ्नो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्ना वास्तविक ससुरा नभएको उनले स्पष्ट पारेका छन्।
घिसिङका अनुसार समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो।
‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु,’ उनले लेखेका छन्, ‘त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्।’
उनले राजनीति भित्र असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक रहेको उल्लेख गरेका छन्।
साथै, बन्दसूचीमा देखिएका कुनै पनि प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता पनि घिसिङले व्यक्त गरेका छन्।


