काठमाडौं । चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस चलचित्र आगामी वर्षको २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) बाट प्रदर्शनमा आउने भएको छ।
निर्माण टोलीले चलचित्रको मिति घोषणा विशेष शैलीमा गरेको छ। चलचित्रका मुख्य बाल–कलाकार अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञान निकेतन’मै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले औपचारिक रूपमा प्रदर्शन मिति सार्वजनिक गरेको हो।
निर्माता विनोद पौडेलका अनुसार चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ।चलचित्रको मुख्य छायांकन हिमाली जिल्ला म्याग्दीका रमणीय तथा ग्रामीण भेगहरूमा गरिएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित चलचित्र हो। गत वर्ष सार्वजनिक गरिएको चलचित्रको फर्स्टलुक पोस्टरमा कक्षाकोठामा हात उठाएर उपस्थिति जनाइरहेको एक बालकको दृश्यले शिक्षा प्रणालीको गहिरो पाटोलाई उजागर गर्ने संकेत दिएको थियो, जसले दर्शकमाझ उत्सुकता बढाएको थियो।
महेश दवाडीको लेखन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल–कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहनेछ।चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं रहेका छन्।
शिवराम श्रेष्ठको छायांकन (डीओपी) रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, कला संग्रौला प्रोडक्सन डिजाइनर तथा मनोज जोशी प्रोडक्सन हेड रहेका छन्। चलचित्रको सम्पादन मदन घिमिरेले गरेका हुन्।चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे.एम. सिनेमाले वितरण गर्ने भएका छन्।


