काठमाडौं, चैत्र २६ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानीमा छाड्ने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार दुवै जनालाई आवश्यक प्रक्रियापछि ‘खोजेको बेला उपस्थित हुने’ शर्तमा थुनामुक्त गरिनेछ। उनले भने, “हाजिरी जमानीमा छाड्ने निर्णय भएको छ, त्यसको प्रक्रिया अघि बढेको छ।”
प्रहरीका अनुसार थुनामुक्त गरे पनि अनुसन्धान प्रक्रिया भने निरन्तर रहनेछ। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा गत सोमबार नै म्याद थप नगर्न परमादेश दिएको थियो।
ओली र लेखकलाई गत चैत १४ गते पक्राउ गरिएको थियो। ओली हाल उपचारका लागि अस्पतालमा रहेका छन् भने लेखकलाई प्रहरी गणमा राखिएको थियो। अब दुवैको स्वास्थ्य जाँचपछि हाजिरी जमानी कागजमा हस्ताक्षर गराएर रिहा गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।


