काठमाडौं । बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ। भारतको मुम्बईस्थित पाँचतारे होटल ‘ताज ल्याण्ड्स एन्ड’मा मंगलबार साँझ आयोजित समारोहबीच चलचित्र निर्माणको घोषणा गरिएको हो।
ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (सीपीएए)ले आयोजना गरेको ‘रोज डे’ समारोहमा चलचित्र घोषणा गरिएको हो।
समारोहमा साहारा आर शाहलाई चलचित्रको मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिएको छ। निर्माता सुवास भुसाल र शाहबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो। शाहले अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एक्टिङ एकेडेमी’मा अभिनय प्रशिक्षण लिएकी छन्।
साहाराको चलचित्र डेब्यु आफ्नो जन्मदिनको सबैभन्दा ठूलो उपहार भएको अभिनेता ओबेरोयले बताएका छन्। लामो समयदेखि साहाराको अभिभावकत्व सम्हाल्दै आएका ओबेरोयले उनलाई तीन वर्षको उमेरदेखि क्यान्सरसँग संघर्ष गरिरहेको अवस्थामा देखेको बताए।

क्यान्सरलाई जितेकी साहारालाई सीपीएएमार्फत ओबेरोयले स्वास्थ्योपचार, शिक्षा तथा संरक्षण प्रदान गर्दै आएका छन्। चलचित्र घोषणा समारोहमा ओबेरोयले साहाराको संघर्ष सम्झिँदै भावुक हुँदै उनको फिल्मी यात्राका लागि शुभकामना दिए।
सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रको लेखन तथा निर्देशन विकास सुवेदीले गर्नेछन्। निर्देशक सुवेदीका अनुसार साहारा अडिसनमार्फत चलचित्रमा छनोट भएकी हुन्। चलचित्रको कथाअनुसार हिन्दी लवज भएकी अभिनेत्री आवश्यक भएकाले साहारालाई छनोट गरिएको उनको भनाइ छ।
चलचित्रमा औपचारिक रूपमा जोडिनुअघि साहाराले अभिनेता विवेक ओबेरोय तथा ‘तारे जमिन पर’का लेखक अमोल गुप्तेसँग आशीर्वाद लिएकी थिइन्। कार्यक्रममा ओबेरोयले चलचित्रको सफलताको शुभकामना दिँदै निर्देशक सुवेदी र निर्माता भुसाललाई धन्यवाद दिए।
यसअघि नै चलचित्रको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन्। प्रदीपको जोडीका रूपमा साहाराले अभिनय गर्नेछिन्।
किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालका जुम्ला र काठमाडौं तथा भारतका मुम्बई र केदारनाथका विभिन्न स्थानमा गरिने निर्माता भुसालले जानकारी दिएका छन्।
कर्णाली फिल्म फेस्टिभलका क्रममा चलचित्रको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार फेस्टिभलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो।


