काठमाडौं । नेपाली फिल्मका चर्चित नायकद्वय पल शाह र प्रदीप खड्का पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । कृषा चौलागाईं र विशाल चौलागाईंको निर्माणमा बन्न लागेको नयाँ फिल्मको आज पूजा गर्दै शुभमुहूर्त गरिएको छ ।
केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा पल र प्रदीपसँगै अभिनेत्री सिम्रन पन्त मुख्य भूमिकामा रहनेछिन् । यसै फिल्ममार्फत जुना विश्वकर्माले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन् ।
मल्टिस्टारर फिल्म निर्माणमा सक्रिय कृषा र विशालको टिमले यसपटक दुई चर्चित नायकलाई एउटै पर्दामा उतार्न लागेको हो । फिल्ममा पल, प्रदीप, सिम्रन र जुनाका अतिरिक्त लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकारको अभिनय रहनेछ ।
आगामी मंसिरबाट म्याग्दीका रमणीय स्थानमा छायांकन सुरु गरिने फिल्मको बाँकी छायांकन काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जनाएको छ ।
फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन् भने निर्देशन कृषा चौलागाईंको रहनेछ । पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्मका निर्माता विशाल चौलागाईं हुन् ।
फिल्मको फाइनान्स म्यानेजरमा सविन ढुङ्गाना र प्रोडक्सन म्यानेजरमा रविन बख्रेल रहेका छन् । फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ भने वसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने निर्देशक कृषा चौलागाईंले जानकारी दिएकी छन् ।
फिल्म आगामी नयाँ वर्षदेखि प्रदर्शनमा आउने तयारीमा छ ।


