सौराहा । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन र घुमफिरसँगै सामाजिक सेवामा समेत जोड्ने अभियान सुरु भएको छ । ग्रीन सोसाइटी नेपाल, सौराहाले पर्यटकलाई विकट बस्तीको जनजीवनसँग परिचित गराउँदै प्रत्यक्ष सामाजिक सेवामा सहभागी गराउन थालेको हो ।
युवा पर्यटन व्यवसायी एवं समाजसेवी शिरलाल परियारको पहलमा सञ्चालित संस्थाले विगत दुई दशकदेखि चितवनका विकट पहाडी क्षेत्रका विपन्न समुदायको स्वास्थ्य, शिक्षा र बालबालिकाको हकहितका क्षेत्रमा काम गर्दै आएको छ ।

विशेषगरी राप्ती र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई लक्षित गरी संस्थाले निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, खाद्यान्न तथा खाजा सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पर्यटकलाई सामाजिक सेवामा प्रत्यक्ष सहभागी गराउँदै
ग्रीन सोसाइटीको अभियानमा शिरलालका दाजु शेरबहादुर परियारले पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । दुवै दाजुभाइ लामो समयदेखि विकट क्षेत्रका विपन्न समुदायको जीवनस्तर सुधारका लागि सामाजिक अभियानमा सक्रिय छन् ।
सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन धेरै हुने भएकाले सामाजिक सेवामा रुचि राख्ने पर्यटकलाई स्थानीय समुदायसँग जोड्ने प्रयास गरिएको संस्थाका महासचिव शिरलाल परियारले बताए ।
‘धेरै पर्यटक सामाजिक काममा सहयोग गर्न चाहनुहुन्छ । तर सहयोग रकम दिएर मात्रै सामाजिक सेवा पूरा हुँदैन । हामी पर्यटकलाई आफैँ विकट बस्तीमा पुर्याएर त्यहाँको जनजीवन देखाउँदै प्रत्यक्ष रूपमा सेवामा सहभागी गराउँछौँ,’ परियारले भने ।
जर्मनीका हार्टमुट ड्राम्सटाट पनि ग्रीन सोसाइटीसँगै सामाजिक अभियानमा सहभागी हुँदै आएका छन् । नेपाल भ्रमणका क्रममा दुर्गम गाउँमा पुगेर स्थानीयलाई प्रत्यक्ष सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए ।
चेपाङ बस्तीमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
यसै अभियानअन्तर्गत शुक्रबार कालिका नगरपालिका–११ स्थित माझवाङ माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोही अवसरमा विद्यालयका विद्यार्थीलाई एक वर्षसम्म पुग्ने शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।
विकट पहाडी गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा पाएपछि स्थानीय चेपाङ समुदायले खुसी व्यक्त गरेका छन् । शिविरमा हाडजोर्नी, जनरल मेडिसिन, बालरोग, आँखा परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।
बकुलहर रत्ननगर अस्पतालका हाडजोर्नी विभागका डा. सुरज बिडारीको नेतृत्वमा पाँच सदस्यीय चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । टोलीमा हाडजोर्नी विशेषज्ञ डा. शैलेस खनाल, बालरोग विशेषज्ञ डा. जगन्नाथ शाह, मेडिकल अधिकृत डा. निशा घले र डा. भूमिका आचार्य सहभागी थिए ।

शिविरमा जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई थप उपचारका लागि रत्ननगरमा उपचारको व्यवस्था मिलाइएको परियारले जानकारी दिए ।
कार्यक्रममा कुपोषण न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले २५० भन्दा बढी बालबालिकालाई सर्वोत्तम लिटो वितरण गरिएको थियो । बालबालिकालाई झुल तथा महिलालाई निःशुल्क स्यानिटरी प्याडसमेत उपलब्ध गराइएको थियो ।
माझवाङ माध्यमिक विद्यालयमा अध्ययनरत ९४ जना चेपाङ समुदायका विद्यार्थीलाई लक्षित गरी एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । शिविरबाट कालिका नगरपालिका–११ लगायत आसपासका क्षेत्रका ४०० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।
कार्यक्रममा कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले विकट बस्तीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएकोमा ग्रीन सोसाइटी नेपाल तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।
पर्यटनलाई मनोरञ्जन र घुमफिरमा मात्र सीमित नराखी स्थानीय समुदायको जीवनस्तर सुधार र सामाजिक उत्तरदायित्वसँग जोड्ने ग्रीन सोसाइटीको अभियानले सौराहाको पर्यटनमा सामाजिक सेवाको नयाँ आयाम थप्ने प्रयास गरेको छ । पर्यटकको भ्रमणलाई मानवीय सेवा र समुदायको सहयोगसँग जोड्ने यो अभ्यासले पर्यटन र सामाजिक रूपान्तरणलाई सँगसँगै अघि बढाउने सम्भावना देखाएको छ ।


