काठमाडौं, कात्तिक २७
सरकारले सांसद विकास कोषको आठ अर्ब २५ करोड रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो ।
उक्त रकमलाई विपद् व्यवस्थापन कोषमा सार्ने र थप एक एक अर्ब ७५ करोडसमेत कोषमा थप गररेर जम्मा १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनस भयो ।
कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्पपछिको व्यवस्थापनका सम्बन्धमा भूकम्पबाट प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने भएको भन्दै सरकारले अन्य विभिन्न निर्णय पनि गरेको छ । जसमा अस्थायी आवास निर्माण लगायतका कार्यमा आवश्यक समझदारी कायम गर्न तथा सहयोग र समन्वय गर्न स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित स्थानीय तह र वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्ने निर्णय भएको छ ।
भूकम्पका कारण आवासको पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रति परिवार ५० हजार उपलब्ध गराउने, यस्तो रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सीधै उपलब्ध गराउने निर्णय भएकोछ । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने जनाइएको छ ।


