काठमाडौं, कार्तिक २७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले आज शुभकामना सन्देश दिँदै नेपालीहरूको महान् पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भयो ।
नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधिनता र स्वाभिमान उच्च राख्न हामीलाई ठूलो आधार प्रदान गरेको उल्लेख गर्नुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताको सङ्गमस्थलका रूपमा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधार भएको बताउनु भयो ।


