वैशाख १५ ,भरतपुर । बिहिबार भरतपुरमा पाँच दलीय सत्ता गठबन्धनले निर्वाचन कार्यालयको उद्घाटन गरेको छ । गठबन्धनबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले आज संयुक्त रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् ।
गठबन्धनबाट मेयरका उम्मेद्वार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरका उम्मेद्वार नेपाल कांग्रेसका नगरसभापति चित्रसेन अधिकारीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि संयुक्त चुनावी कार्यालय स्थापना गरिएको हो ।
उद्घाटनपछि बोल्दै मेयरकी उम्मेदवार दाहालले आजबाट गठबन्धनको कार्यक्रम सुरु भएको बताईन् । उनले वडा तहसम्म नै पाँच दलिय गठबन्धन हुने बताईन् । उनले वडा तहमा आ-आफ्नै ढङ्गले उम्मेदवारी दर्ता भएकोले शुक्रबारसम्म त्यसलाई पनि टुंगो लगाउने प्रयास गरिने बताईन् ।उनले २०७४ मा कांग्रेससँगको गठबन्धनबाट बनेको नेतृत्वले भरतपुरमा बिकासको मोडल तयार भएको बताईन् । उनले भरतपुरलाई आर्थिक बिकासको केन्द्र बनाउनका लागि पाँच दलिय गठबन्धन गरेर चुनावमा होमिएको बताईन् ।
गठबन्धनबाट भरतपुरको उपमेयरका उम्मेदवार अधिकारीले गठबन्धनको उम्मेदवारहरुलाई विजयी गराउने गरी चुनावी अभियानमा अघि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले गठबन्धन भित्र विवाद नगर्न समेत उनले आग्रह गरे ।एउटै डुङ्गामा सहयात्रा गरिरहेका गठबन्धन भित्र विवाद गर्दा सबै डुब्न सक्ने भन्दै एक जुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले गठबन्धनलाई स्वाभाविक रुपमा लिन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष कृष्णराज न्यौपाने, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल, कांग्रेस भरतपुर महानगरसमितिका उपसभापति बुद्धिकान्त न्यौपाने, सचिव कृष्ण बगालेलगायतको उपस्थिति रहेको थियो ।


