काठमाडौं , मंसिर १६ । सस्पेन्स थ्रिलर चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले प्रिमियर शोमै उत्कृष्ट प्रतिक्रिया बटुलेको छ। सोमबार साँझ ललितपुरस्थित लविम मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा उपस्थित दर्शक तथा कलाकारहरूले चलचित्रलाई सराहना गरेका छन्।
प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रको सरप्राइजिङ कथावस्तु, कथनशैली र कलाकारको अभिनयलाई उच्च प्रशंसा गरेका थिए। सस्पेन्स र कौतुहलताले भरिएको कथाले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने क्षमता राखेको प्रतिक्रिया कलाकार र फिल्म निर्माताले व्यक्त गरे।
अभिनेता दिव्यदेव पन्तले फिल्मको कथा, निर्देशन र महिला कलाकारहरूको प्रस्तुतिलाई असाध्यै प्रभावकारी बताउँदै फिल्मले नेपाली सिनेमामा महिला पात्रको परम्परागत प्रस्तुति तोडेको उल्लेख गरे। निर्माता विनोद पौडेलले प्रतिभाशाली तर ओझेलमा परेका कलाकारलाई मौका दिएको निर्णय फिल्मको बलियो पक्ष बनेको उनको धारणा छ।

निर्देशक शोभित बस्नेतले अहिले नेपाली फिल्ममा ‘स्टार’ भन्दा ‘कलाकार’को दमले फिल्म चल्ने गरेको बताउँदै ‘अभिमन्यु’लाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे। उनले फिल्मले प्रत्येक क्षण ‘अब के हुन्छ’ भन्ने कौतुहलताले दर्शकलाई समातिराख्ने बताए।
अभिनेत्री अलिाशा बास्तोला र रुषा न्यौपानेले फिल्मले नेपाली बाजारमा नयाँ धारको सस्पेन्स थ्रिलर प्रस्तुत गरेको बताउँदै दर्शकले पछुताउनु नपर्ने चलचित्र भएको दाबी गरे। अभिनेत्री लक्ष्मी बर्देवाले आफू गर्भवती अवस्थामा पनि यो फिल्ममा काम गरेको अनुभव सुनाउँदै स्क्रिप्ट र कथावस्तुले आफूलाई आकर्षित गरेको बताइन्।
सामाजिक विषय दाइजो प्रथालाई समेत उठान गरेको फिल्मको संरचनालाई कमेडीयन भरतमणी पौडेलले प्रशंसा गरे।
प्रिमियरमा मुख्य अभिनेता कामेश्वर चौरसिया भावुक बने। लामो मेहनत र संघर्षपछि मुख्य भूमिकासहित दर्शकमाझ प्रस्तुत हुन पाउँदा आफू अत्यन्त खुसी रहेको उनको प्रतिक्रिया थियो। अभिनेता किरण श्रेष्ठले दिग्गज कलाकारहरूसँग काम गर्न पाउनु आफ्नो भाग्य भएको बताए।
सुशान्त गौतम निर्देशित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ सेभेन सिज सिनेमाको प्रस्तुति हो। मुकेश खनालको लेखन रहेको चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता तथा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका यस चलचित्रमा शरद महतोले छायांकन, मदन घिमिरेले सम्पादन तथा मनोज श्रेष्ठले भिएफएक्सको जिम्मेवारी संभालेका छन्।
नेपाली र हिन्दी दुवै भाषामा तयार गरिएको ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट नेपाल तथा विदेशका हलहरूमा एकसाथ प्रदर्शन हुँदैछ।


