काठमाडौं , पौष १६
आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सिनेमाको ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले दर्शकमाझ कथावस्तुको झलक प्रस्तुत गरेको हो।
ट्रेलरले सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनामा मुख्य पात्र गोर्खे (सौगात मल्ल) ले गर्ने संघर्ष, जोखिमपूर्ण प्रयास र अनौठा गतिविधिहरूलाई रोचक तथा मर्मस्पर्शी ढंगले चित्रण गरेको छ। आधुनिक समाजमा सामाजिक सञ्जालको बढ्दो प्रभाव र त्यसले सिर्जना गर्ने भ्रमलाई ट्रेलरले व्यंग्यात्मक शैलीमा उठान गरेको छ। सिनेमामा सौगात मल्लको जोडी सृष्टि श्रेष्ठसँग बाँधिएको छ।
सिनेमामा सौगातले अभिनय गरेको पात्र एक्सन स्टार शिव श्रेष्ठ जस्तै चर्चित बन्ने सपना बोकेको व्यक्ति हो, जो टिकटकजस्ता सामाजिक सञ्जालमा धेरै भ्युज पाउन जोखिम मोलेर अनौठा हर्कत गर्छ र क्रमशः भाइरल बन्छ। तर, वास्तविक जीवनका यथार्थसँग जुध्नुपर्दा रिल र रियल लाइफबीचको अन्तरविरोधले उसको जीवनलाई कसरी मोड दिन्छ भन्ने कथा सिनेमाको मूल कथावस्तु बनेको छ। पछिल्लो समय नेपाली समाजमा मौलाउँदै गएको **‘भाइरल बन्ने प्रवृत्ति’**माथि सिनेमाले प्रश्न र व्यंग्य दुवै प्रस्तुत गरेको छ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सफल सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन्। निर्देशक श्रेष्ठका अनुसार यो सिनेमा समसामयिक विषयवस्तुमा आधारित भएकाले दर्शकले आफूलाई कथासँग जोड्न सक्नेछन्। उनले ‘भाइरल गोर्खे’मार्फत आफ्ना निर्देशकिय क्षमताको पूर्ण प्रस्तुति दिएको दाबीसमेत गरेका छन्।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ।
सिनेमाका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने सह–निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल रहेका छन्। अमर महर्जनको सिनेमाटोग्राफी रहेको यो सिनेमा लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो।सिनेमालाई सुनिल मानन्धरले वितरण गर्दैछन्। द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् भने सम्पादन बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्माले गरेका हुन्।


