काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ को अर्को गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरेको हो ।
गीतले परदेशिन लागेका पात्रको पीडा र भावनालाई सशक्त रूपमा प्रस्तुत गरेको छ । सार्वजनिक भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारलाई देख्न सकिन्छ । गीतको भावअनुसार कलाकारहरूको अभिनय स्वाभाविक र प्रभावशाली देखिन्छ ।गीतमा किरण परियारको स्वर, अभि सुनारको शब्द तथा संगीत रहेको छ भने एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको यस चलचित्रमा पल शाह र विपना थापासँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । यतिबेला फिल्मको प्रचार–प्रसारमा पल शाह, विपना थापा सहित सम्पूर्ण निर्माण टिम सक्रिय रूपमा जुटिरहेको छ ।
चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका हुन् । फिल्मको कथा तथा पटकथा पनि निर्देशक पन्त स्वयंले लेखेका हुन् । चलचित्रमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । गायनमा रवि ओड, किरण परियार तथा नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ ।
फिल्मका गीतहरूमा गंभीर बिष्ट र दिलीप ओखेडाको कोरियोग्राफी रहेको छ भने नवराज उप्रेती डीओपीका रूपमा छन् । संवाद लेखनमा अभिमन्यू निरवी, अमर न्यौपाने र निर्देशक चन्द्र पन्तको सहकार्य रहेको छ ।
चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन् । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन् ।
यसअघि सार्वजनिक गरिएको गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ निकै चर्चित बनेको थियो । दर्शकको रुचिपछि निर्माण टिमले उक्त गीतको नेवारी भर्सन पनि सार्वजनिक गरेको थियो । नेवारी भर्सनको अनुवाद वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् भने उनका छोरा यमन श्रेष्ठले स्वर दिएका छन् ।चलचित्र ‘आ बाट आमा’ को नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।


