गोरखा, राजु लामा । गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै स्थापना गरेका दुई आकर्षक संरचनाले पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको ध्यान तान्न थालेका छन्।
अजिरकोट कालिका मन्दिरको पछाडिपट्टि राखिएको ‘I ❤️ Ajirkot’ लेखिएको संरचना यतिबेला आगन्तुकका लागि प्रमुख आकर्षण बनेको छ। प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेको उक्त स्थानमा पुग्ने पर्यटकले फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा साझा गर्ने क्रम बढ्दै गएको छ।

यसैगरी, केही समयअघि निर्माण सम्पन्न भएको भच्चेक बसपार्कको माथिल्लो घुम्तीमा राखिएको ‘नमस्ते भच्चेक’ लेखिएको स्वागत बोर्ड पनि पर्यटकको रोजाइमा परेको छ। दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकले उक्त स्थानमा तस्बिर र भिडियो खिच्ने गरेका छन्।
विशेषगरी टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा यी दुवै स्थानका भिडियो र तस्बिर भाइरल हुन थालेपछि अजिरकोट र भच्चेकको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको स्थानीयको विश्वास छ।
स्थानीयवासीका अनुसार यस्ता सिर्जनात्मक संरचनाले क्षेत्रको पहिचान स्थापित गर्न मात्र नभई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पनि महत्वपूर्ण भूमिका खेलेका छन्। पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यवसाय र पर्यटन गतिविधिमा समेत सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।तस्विर :- अन्जलि गुरूङ्सेनि


