बागलुङ । बागलुङमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
आइतबार बिहानदेखि निसीखोला, तमानखोला, बडिगाड, ढोरपाटन र दरमखोलालगायत क्षेत्रमा बाढी आएको छ। ग्रामीण क्षेत्रमा पहिरोले घर पुरिँदा मानवीय तथा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज विक, ८ वर्षीय छोरा मुकेश विक र ३ वर्षीय छोरा निसान विक रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए।
त्यस्तै, निसीखोला गाउँपालिका–६ मा घरमाथिबाट आएको पहिरोले पुरिँदा ५० वर्षीय सुर्जे घर्ती मगरको मृत्यु भएको छ। उनी सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको प्रहरीले जनाएको छ।
तमानखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धीराज घर्ती र ६५ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका–४ मा पनि पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर विक सिर्पाली र ६५ वर्षीया उदीसरा विक सिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा ५० वर्षीया सरा विक बेपत्ता भएकी छन्।
प्रहरीका अनुसार गाउँमाथिबाट खसेको पहिरोले तमानखोला गाउँपालिका–४ मा १० वटा घरमा क्षति पुगेको छ। घटनापछि प्रहरी तथा स्थानीयको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको छ।


