काठमाडौँ, असोज १२ गते । काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागिएका १०५ ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन् । बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन् ।
ती बुलेट बाटो खुल्नासाथ उपत्यकामा भित्रिने तयारी अवस्थामा रहेको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले वर्षाका कारण १०५ बुलेट बाटोमै रोकिएको जानकारी दिनुभयो । “एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास बाटोमै रोकिएको छ,” ठाकुरले भन्नुभयो, “बाटो खुल्नासाथ हिँडिहाल्ने भएकाले उपत्यकामा ग्यासको अभाव कम हुने छ ।”
“भारतबाट ग्यास ल्याउन कुनै पनि समस्या छैन, बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड भएका बुलेट चितवन र हेटौँडा आसपास नै आइसकेका छन्,” ठाकुरले भन्नुभयो, “कृष्णभिर र धादिङका अन्य स्थानमा गएको पहिरो पन्छाउनेबित्तिकै ग्यास बुलेट आउन सुरु हुन्छ ।” बाटो खुल्नसाथ ग्यासको आयात नियमित भई बजारमा ग्यास वितरण हुने भएकाले उपभोक्तालाई नआत्तिन ठाकुरले अनुरोध गर्नुभयो ।
काठमाडौँ उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका बुलेट वीरगन्ज भन्सार क्लियर भइसकेका छन्, कोही चितवनको रामनगरमा, कोही हेटौँडामा त कोही अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएर बसेको निगमले जनाएको छ ।
एउटा ग्यास बुलेटमा १८ देखि २० टन ग्यास हुने गर्छ । एक बुलेटमा एक हजार २५० वटा सिलिन्डर भर्न मिल्ने ग्यास हुन्छ । बाटो खुल्नेबित्तिकै लगातार तीन/चार दिन ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सक्ने भएकाले अभाव कम हुने निगमले जनाएको छ । निगमले आइतबार १७ हजार सिलिन्डर बजारमा वितरण गरिएको जनाएको छ ।
यसैबिच चालु आव २०८२/८३ को दुई महिनामा एक लाख १७ हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन/भदौमा १६ अर्ब २६ करोड रुपियाँ बराबरको एक लाख १७ हजार १६८ मेट्रिक टन ग्यास आयात भएको हो । गत वर्ष सो अवधिमा नौ अर्ब ४३ करोड ४१ लाख रुपियाँ बराबरको ९१ हजार ९६३ मेट्रिक टन ग्यास आयात भएको थियो ।
गत आवको दुई महिनाको तुलनामा २६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको हो । बजारमा ग्यासको अभाव कम भएपछि आपूर्ति व्यवस्था सहज पार्न भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरेको निगमले जनाएको छ । साउनमा ५७ हजार ३३५ मेट्रिक टन ग्यास आयात भएको थियो । ग्यासको आयात बढे पनि बजारमा अभाव भने कायम छ ।


