काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार अभियानलाई थप तीव्र बनाएको हो।
सार्वजनिक गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने उनले विज्ञानी पराजुलीसँग मिलेर स्वर दिएका छन्। गीतले पहिलो नजरमै अंकुराएको प्रेम, त्यसपछि जन्मिने सपना र प्रेमिल सम्बन्धका भावनात्मक क्षणलाई संगीतमार्फत प्रस्तुत गरेको छ।
गीतको कथावस्तु सुन्दर युवतीप्रति आकर्षित हुने एक युवकको मनोभाव, प्रेमको अनुभूति र भविष्यप्रतिको कल्पनामा केन्द्रित छ। भिडियोले त्रिकोणात्मक प्रेमकथाको संकेत गर्दै एक युवक र तीन युवतीबीचको सम्बन्धलाई रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह आकर्षक अवतारमा देखिएका छन्।
चलचित्रलाई अभिनेत्री रेखा थापाले निर्देशन गरेकी हुन्। यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय चलचित्र हो।
दिया एण्ड अमु फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। साथै लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेलको पनि अभिनय रहेको छ।
ध्रुव लम्सालको पटकथामा आधारित चलचित्रले प्रेमकथामार्फत सामाजिक भावनालाई प्रस्तुत गर्ने निर्माण टिमको भनाइ छ।
चलचित्रका निर्माता हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। सुदीप बरालले छायांकन गरेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन्। संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की तथा प्रोडक्सनको जिम्मेवारी सुमन तिवारीले सम्हालेका छन्।
चलचित्रलाई देशभर रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।


