काठमाडौँ, असोज ११ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक नागरिकको जीवन रक्षा गर्दै सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर चार सय ३९ वटा मनसुनका घटनाहरु घटेको भन्नुहुँदै गाउँ र सहर दुवै क्षेत्र डुबानमा परेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस्तो सङ्कटको घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो। त्यसैले बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फसेका मानिसहरू र पशुचौपायाको उद्धारमा हाम्रा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।”
प्रधानमन्त्री शाहले बाढी तथा पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाढी, पहिरो प्रभावित परिवारहरूका लागि सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। नागरिकको जिउधन बचाउन विभिन्न माध्यमबाट सूचना तथा सन्देशहरू सम्प्रेषण गर्नुका साथै सुरक्षाकर्मीहरूले स्थलगत रूपमा माइकिङ गरिरहनुभएको छ। सरकारको पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रुहरू सुरक्षित फर्कनुभएको छ भने हाम्रा विद्यार्थीहरू जोगिनुभएको छ। कुनै पनि नागरिक सङ्कटमा पर्नेबित्तिकै उद्धारका लागि हाम्रा सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा छन्।”
उहाँले खतरा अझै नटरेको र जोखिम कायमै रहेकोले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नगरिकले सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ ।


