काठमाडौं। आगामी कार्तिक २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार फिल्मको नामबाटै राखिएको ‘बाटुलो जून’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा फिल्मका प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशकसमेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन्। यसअघि सार्वजनिक प्रचार सामग्रीमा भुवन केसीलाई देखाइएको भए पनि गरिमा पन्तलाई भने निर्माण टिमले गोप्य राखेको थियो। पछिल्लो समय नेपालबाहिर रहँदै आएकी गरिमाका लागि ‘बाटुलो जून’ कमब्याक फिल्म बनेको छ।
राम अविरल बिष्टको शब्द रहेको गीतमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ। गीतमा संगीत तथा संगीत संयोजन एसडी योगीले गरेका छन्। नृत्य निर्देशक कविराज गहतराजले गीतको शब्द र संगीतअनुसार कलाकारहरूलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्।
जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा अनमोल, प्रिन्सी, भुवन र गरिमासँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलको अभिनय छ। विवेक थापा फिल्मका सहनिर्माता हुन्।
कृष्ण भण्डारीले सम्पादन गरेको फिल्मको लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन्। फिल्ममा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा रहेका छन्।


