संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता सहयात्रा गर्ने सहमति गरे लगत्तै संघीय सरकारको नेतृत्व गुमाएको नेकपा (माओवादी) केन्द्र प्रदेशहरूमा पनि विपक्षमा धकेलिँदै छ।
कोशीमा अहिले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार छ, जहाँ माओवादी तीन वटा मन्त्रालयसहितको सत्ता साझेदारीमा छ। आफू विपक्षमा पुग्ने निश्चित भए पनि कोशीमा भने माओवादी सरकारमा बस्न आफ्नो समय अझै लम्ब्याउने दाउमा छ। माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि तत्कालै प्रदेश सरकारबाट बाहिरिने योजना नभएको बताएका छन्।
माओवादी नेताहरू कोशी सरकारबाट हट्न मुख्यमन्त्रीको प्रस्ट निर्देशन पर्खिरहेको बताउँछन्। यद्यपि मुख्यमन्त्री कार्की भने तत्कालै माओवादीका मन्त्रीलाई राजीनामा माग्ने योजनामा नरहेको बरू उनीहरू आफैले बुझेर राजीनामा दिनुपर्ने आशमा छन्।
मुख्यमन्त्री माओवादीको बाटो हेर्ने, माओवादी मुख्यमन्त्रीको मुख ताक्ने भएपछि कोशीमा कांग्रेसको सत्ता रोहणमा ढिलाइ हुनसक्ने कांग्रेस नेताहरू बताउँछन्।
अर्कातर्फ कोशीका कांग्रेस प्रदेश सांसदहरू यति बेला प्रदेशको मन्त्री बन्ने दौडधुपमा व्यस्त छन्। विराटनगरमा बन्ने सरकारमा मन्त्री बन्न बहुसंख्यक सांसदहरू साता अघिदेखि काठमाडौंमा बसेर नेताहरूसँग लबिङ गरिरहेका छन्। तर, कोशीमा नयाँ गठबन्धन कहिले कार्यान्वयन हुन्छ भन्ने अन्यौलले उनीहरूको सत्ता रोहणको मिति पर धकेलिरहेको छ।
कार्की नेतृत्वको सरकारमा माओवादी सुरूबाटै सहभागी थियो। भौतिक पूर्वाधार मन्त्रीका रूपमा गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र वन्दना झाँगर पर्यटन राज्यमन्त्रीका रूपमा अहिले पनि कोशी सरकारमा कार्यरत छन्।


