काठमाडौं, जेठ १९
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ चलचित्रहरूको विशेष प्रदर्शन कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आयोजित कार्यक्रमको उद्घाटन सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै गरिएको हो।
चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा सञ्चालन भइरहेको छ।
उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, अभिनेता प्रमोद अग्रहरी लगायत चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल–चीनबीचको मित्रता थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले चिनियाँ बजारमा नेपाली चलचित्रको वितरण र प्रदर्शनका लागि समेत यस्ता कार्यक्रम उपयोगी हुने बताए।
मिनिस्टर काउन्सिलर चउ पानले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाज, संस्कृति र इतिहास बुझ्ने महत्वपूर्ण साधन भएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले दुई देशका जनताबीच आपसी समझदारी र चलचित्रकर्मीबीच व्यावसायिक सहकार्यको अवसर विस्तार गर्ने धारणा राखे।
वरिष्ठ निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्रलाई चिनियाँ बजारसम्म पुर्याउन सहकार्य र सहज वातावरण आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोगको अपेक्षा व्यक्त गरे।
‘ट्रयाप्ड’ प्रदर्शनपछि निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीबीच अन्तरक्रिया पनि गरिएको थियो। निर्देशक झानले आफ्नो किशोरावस्थामा देखेका सामाजिक परिवेश र अनुभवबाट प्रेरित भएर चलचित्र निर्माण गरेको बताए। उनले चलचित्रको कथा पूर्ण रूपमा काल्पनिक भए पनि त्यसमा प्रस्तुत परिवेश आफ्ना अनुभूतिसँग नजिक रहेको उल्लेख गरे।
दर्शकहरूले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। कार्यक्रममा सहभागी एक चिनियाँ दर्शकले आफ्नै भाषाको चलचित्र विदेशमा हेर्न पाएकोमा खुसी व्यक्त गरिन् भने नेपाली दर्शकहरूले पनि चलचित्रको कथा र प्रस्तुतीकरणको प्रशंसा गरेका छन्।
काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, Tribhuvan University, Kathmandu University तथा Lumbini Buddhist University Confucius Instituteको सहयोगमा भइरहेको यो कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ।कार्यक्रमको पहिलो दिन ‘ट्रयाप्ड’ सँगै ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ समेत प्रदर्शन गरिएको थियो।


