काठमाडौं । यही साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा राजधानीदेखि मोफसलसम्मका अधिकांश मल्टिप्लेक्स हलहरूले मंगलबारदेखि नै शो सार्वजनिक गर्दै टिकट बिक्री सुरु गरेका हुन्।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि चलचित्रका शो खुलाएको छ। त्यस्तै आईएनआई सिनेमाज, वान सिनेमाजलगायतका प्रमुख मल्टिप्लेक्सले पनि ‘गौँथली’को अग्रिम टिकट बुकिङ सुरु गरेका छन्।
चलचित्रका वितरक करण श्रेष्ठ (क्रेजी)का अनुसार देशभरका हलबाट शो थपिने क्रम जारी छ। उनका अनुसार बुधबारसम्म चलचित्रले देशभर २०० भन्दा बढी शो प्राप्त गर्ने अपेक्षा गरिएको छ।
‘अहिले पनि विभिन्न हलबाट शो थपिने क्रम चलिरहेको छ। भोलिसम्म देशभरबाट २०० भन्दा बढी शो प्राप्त हुने विश्वास छ,’ श्रेष्ठले बताए।
प्रिमियर शोमा प्राप्त उत्साहजनक प्रतिक्रियापछि निर्माण टिम चलचित्रले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त देखिएको छ। प्रिमियरमा सहभागी दर्शकले कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गर्दै चलचित्रले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने प्रतिक्रिया दिएका थिए।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन्। चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।
‘गौँथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्दैछन् भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।


