काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज बेलुकी संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।
मन्त्रालयका अनुसार न्युयोर्कमा रहँदा मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले विभिन्न देशका समकक्षी तथा अन्य उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।
महासभामा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने सेप्टेम्बर २२ मा न्युयोर्क जानेछन्। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्कनेछन् भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार ८१औँ महासभाको उच्चस्तरीय जनरल डिबेट सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा सञ्चालन हुनेछ।


