काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाज दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको ‘९एन–एजे’ कलसाइनको जहाज आज बिहान ८ः२५ बजे अवतरणका क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का फुस्किएपछि दुर्घटना भएको हो। चक्का फुस्किएलगत्तै जहाज केही परसम्म उछिट्टिएको थियो।
पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागी हुनबाट जहाज जोगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जहाज रनवेमै रोकिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
तपाईको प्रतिक्रिया


