म्याग्दी । कालीगण्डकी नदीले धार परिवर्तन गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका बासिन्दा घर छाड्न बाध्य भएका छन्। नदीले बस्तीको आँगनसम्मै कटान गर्न थालेपछि स्थानीय सामान सारेर सुरक्षित स्थानको खोजीमा छन्।
दुई दिनयता नदीले कटान तीव्र पारेपछि स्थानीय गमबहादुर सेञ्चुरीले घरका सामान सडकमा निकालेर राखेका छन्। विदेशमा कमाएको पैसाले जोडेको एक रोपनीभन्दा बढी जग्गा नदीले बगाएपछि २० वर्षदेखि बस्दै आएको घरसमेत छाड्नुपर्ने अवस्था आएको उनले बताए।
तिल्केनीचौरमा करिब आठ घरपरिवारको बसोबास छ। चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा पर्ने यो क्षेत्र स्थानीय परिकार र रेष्टुरेन्ट व्यवसायका कारण यात्रुको गन्तव्यसमेत बनेको थियो। तर असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षापछि आएको बाढीले यहाँका घर तथा व्यवसायमा ठूलो क्षति पुर्याएको छ।
रेष्टुरेन्ट व्यवसायी गोपाल भण्डारीको घरछेउको खेलमैदानको करिब ८० प्रतिशत भूभाग नदीले कटान गरेको छ। पहिले करिब ५० मिटर टाढाबाट बग्ने कालीगण्डकी एक्कासि धार परिवर्तन गरेर बस्तीछेउ आइपुगेपछि स्थानीयमा त्रास बढेको उनले बताए।
चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङले समेत करिब दुई दशक व्यवसाय गरेको ठाउँ छाडेर गलेश्वरमा बस्न थालेका छन्। उनका अनुसार बस्तीमा रहेका घरहरू जुनसुकै बेला नदीको कटानमा पर्न सक्ने जोखिम छ।
नजिकैको घुमाउने ताल क्षेत्रमा समेत नदीले कटान गरेको छ। बाढीका कारण घुमाउने तालदेखि पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क जोड्ने झोलुङ्गे पुल बगेको छ। पुलसँगै खानेपानीको पाइपलाइन बगेपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ। उक्त क्षेत्रमा करिब १० घरपरिवार बसोबास गर्छन्।
कालीगण्डकीको कटान राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा समेत पुगेको छ। ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले गत सातादेखि परीक्षण उत्पादन सुरु गरेको भए पनि बाढीका कारण परीक्षण उत्पादन केही दिनका लागि बन्द गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए।
विद्युत्गृहलाई प्रत्यक्ष क्षति नभए पनि स्वीचयार्ड नजिकसम्म नदी पुगेको छ। विद्युत्गृह र नदीबीच रहेको बेनी–जोमसोम सडकसमेत बाढीले बगाएपछि सडकबाटै कालीगण्डकी बगिरहेको छ।
आयोजना निर्माणमा संलग्न भारतीय कम्पनी जयप्रकाश एशोसियट्सका करिब २० वटा सवारीसाधन तथा उपकरणसमेत बाढीले बगाएको कर्मचारी कुमार यादवले बताए।
यता, कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गममा रहेको राममन्दिर क्षेत्रसमेत जोखिममा परेको छ। गायत्रीमन्दिर पारीबाट आएको कालीगण्डकीको भँगालो राममन्दिरतर्फ ठोक्किएको छ भने पाखोबाट खसेको पहिरोले सडक अवरुद्ध भएको छ।
राहुघाट क्षेत्रमा पहिरो र लेदो बस्तीमा पस्ने समस्या समेत बढेको स्थानीयले बताएका छन्। दीर्घकालीन रूपमा पहिरो नियन्त्रणको काम नहुँदा बर्सेनि समस्या दोहोरिने गरेको उनीहरूको गुनासो छ। पछिल्लो विपद्का कारण राहुघाट क्षेत्रमा २१ घरपरिवार जोखिममा परेका छन्।


