काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरका विभिन्न स्थानमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने क्रम जारी छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६:२४ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर रेकर्ड भएको छ।
उक्त अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ। गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार अपराह्नदेखि चक्रवात ‘अर्नब’को प्रभाव क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।
आज दिउँसोको मौसम
दिउँसो कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्नेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज रातिको मौसम
राति देशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
वर्षा, हिमपात, मेघगर्जन तथा चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


