काठमाडौँ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार लबिम मलमा विशेष कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा, समयसँगै आउने परिवर्तन र पात्रहरूको जीवनमा देखिने भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनाम तोप्देनबीचको केमेस्ट्री सुहाउँदो देखिएको छ।
मगर समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको कथावस्तु र यसअघि नै चर्चामा रहेका गीतहरूले ट्रेलरलाई थप आकर्षक बनाएका छन्। सिनेमामा समावेश ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजरलाई दर्शकले निकै रुचाएका छन्। ट्रेलरले पनि दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो। निर्देशक मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई समेट्दै सिनेमाको कथा तयार पारिएको हो।
सिनेमामा उपासना सिंह ठकुरी, सोनाम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय रहेको छ। यस्तै, विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर रहेका छन्। यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछ।


