होलीलाई दुर्घटना रहित बनाउन ९ सय प्रहरी परिचालन गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा ९सय ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीहरू खटाईने छन् ।
कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ । त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने छ ।


