सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।
पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवमा शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले स्थानीय समुदायको सचेतनामा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम् समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यमको समाज रुपान्तरणमा बढी भूमिका रहने मन्त्री शर्माले बताउनुभयो । यसलाई थप समुदायको सहयोगमा सबल बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।
मन्त्री शर्माले सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्न सकेकोमा प्रशंसा गर्नुभयो ।
उहाँले गत वर्षदेखि विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने वातावरण बनेको र भ्रष्टाचार नियन्त्रणका लागि सरकार दृढ भएर काम गरिरहेको बताउनुभयो । उहाँले माथिल्लो तहमा पुगेका मानिसले जे पनि गर्न सक्छ भन्ने कुरालाई सरकारले गलत सावित गरेको चर्चा गर्नुभयो । गल्ती गर्ने कारबाहीको भागिदार हुनुपर्छ भन्ने मान्यता अहिले स्थापित भएको उहाँले दावी गर्नुभयो ।


