नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् । विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लने क्रम उच्च बनेसँगै विभिन्न भूगोलका समुद्रको सतह बढ्दै गएको छ । यसले हिमालमा नै हिउँ जोगाउन चुनौती बनेको छ ।
यसका साथै हिउँ पग्लेर नदी हुँदै गेग्य्रान समुद्रमा पुग्दा समुद्रको बिच बिचमा पहाड बन्न थालेका छन् । स्मिट ओसन इन्स्टिच्युटले यसै वर्ष प्रकाशन गरेको अध्ययनको तथ्य अनुसार समुद्रमुनि चार वटा पहाड फेला परेका छन् । जसमध्ये सबैभन्दा अग्लो पहाड दुई मिटर चार सेन्टिमिटर उचाइको छ । यी नयाँ समुद्री पहाड कोस्टारिकाबाट चीन जाने समुद्री पथमा भेटिएका हुन् ।
अध्ययन टोलीले गत वर्ष पनि चिलीको समुद्रमा पहाडहरूको जन्म भइरहेको पत्ता लगाएको थियो । अध्ययन अनुसार वर्षौंदेखि समुद्रमा थुप्रिँदै गएको ठोस पदार्थका कारण समुद्रको फेदबाटै पहाड अग्लिइरहेका हुन् । त्यसरी पहाडभन्दा समुद्रको पानीको सतह पनि माथि उकासिँदै गएर पहिले कायम जमिनलाई समुद्रमा समाहित गर्ने क्रम बढाएको अध्ययनको निष्कर्ष छ ।
अर्को एक अध्ययन अनुसार सन् १८८० यता औसत रूपमा समुद्री सतह ८.९ इन्चसम्म बढेको छ । सन् २००६ देखि २०१५ सम्म प्रति वर्ष ०.०६ इन्च बढ्दै गएको समुद्रको सतह २००६ देखि २०१५ सम्म प्रति वर्ष ०.१४ इन्च बढ्न थालेको हो । यसरी समुद्री सतह बढ्नुमा हिमालको हिमगलनको भूमिका बढ्दै गएको अध्ययता डा. सुदीप ठकुरी बताउनुहुन्छ ।
जलवायुविद् डा. महेश्वर ढकालका अनुसार नेपालको सगरमाथा र हिमाल एसिया क्षेत्रको मात्र नभई विश्वकै जलवायुको सूचक हो । अझ हिमाल र समुद्रको अन्योन्याश्रित सम्बन्धलाई बुझाउने गरी नेपालले पहलकदमी लिनु जरुरी रहेको उहाँ औँल्याउनुहुन्छ । नेपालको हिमाल जैविक विविधतासँगै भौगर्भिक हिसाबले पनि महìवपूर्ण छ । समुद्रमा निरन्तर जमिरहेको पानी नेपालको सगरमाथासहितका हिमाल तथा अन्य क्षेत्रका हिमालबाटै गइरहेको छ ।
विश्वका १४ उच्च हिमालमध्ये सगरमाथासहितका आठ वटा हिमाल नेपालमै रहेका छन् । हिमाल र समुद्रको वातावरण संरक्षण गर्दै वैश्विक सचेतना जगाउन नेपालमा बुधबार र बिहीबार दुई दिन नेपालमा हिमाल, जनता र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुँदै छ ।


