यार्सागुम्बा टिप्न गएका तिनजनाको मृत्यु भएको छ भने एक जना सिकिस्त छन् । दुई जनाको लेक लागेर मृत्यु भएको हो भने एक जना भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।
यस्तै दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन्।
अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका उनको मृत्यु भएको हो ।
यता सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ लगिदै छ । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो।


